Dailyhunt
अरविन्द मार्डीकर दोस्रो पटक हि.स. का निर्विरोध अध्यक्ष निर्वाचित

अरविन्द मार्डीकर दोस्रो पटक हि.स. का निर्विरोध अध्यक्ष निर्वाचित

नयाँ दिल्ली, ०७ मई (हि.स.)। अरविन्द भालचन्द्र मार्डीकर पुनः हिन्दुस्थान समाचार (हि.स.) बहुभाषी समाचार एजेन्सीका निर्विरोध अध्यक्ष निर्वाचित भएका छन्। बुधबार (०६ मई) नयाँ दिल्लीमा सम्पन्न हिन्दुस्थान समाचार सहकारी समिति (लि.) को विशेष वार्षिक सभामा उनलाई लगातार दोस्रो पटक अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरिएको हो।

साथै वरिष्ठ पत्रकार पद्म विभूषण रामबहादुर राय तथा प्रसिद्ध समाजसेवी रविन्द्र मनिलाल संघवी पुनः निर्देशक मण्डलका सदस्य निर्वाचित भएका छन्।

नयाँ दिल्लीस्थित इन्दिरा गाँधी राष्ट्रिय कला केन्द्रको उमंग सभागारमा आयोजित हि.स. को विशेष वार्षिक साधारण सभा यस वर्ष निर्वाचन सभा पनि थियो। यसमा नयाँ निर्देशक मण्डल गठनसँगै अध्यक्षको निर्वाचन सम्पन्न भएको थियो। आगामी तीन वर्षका लागि नागपुर निवासी अरविन्द भालचन्द्र मार्डीकरलाई पुनः निर्विरोध अध्यक्ष निर्वाचित गरिएको हो। यसअघि सन् २०२३ मा उनी पहिलो पटक अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका थिए। आगामी तीन वर्षको कार्यकालका लागि पद्म विभूषण रामबहादुर राय तथा रविन्द्र मनिलाल संघवी (मुम्बई) पुनः निर्देशक मण्डलका सदस्य निर्वाचित भएका छन्।

वरिष्ठ पत्रकार तथा पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीका मिडिया सल्लाहकार अशोक टण्डन निर्देशक मण्डलका नयाँ निर्वाचित सदस्य बनेका छन्। यसका साथै यसअघि विशेष आमन्त्रित सदस्यका रूपमा रहेका परेशकान्त प्रेम मनोहर मांगलिक (मुम्बई) तथा मंगल प्रताप पाण्डेय (राँची) निर्देशक मण्डलका सदस्य निर्वाचित भएका छन्। इन्दौरका प्रसिद्ध व्यवसायी कमल कान्त वशिष्ठ पनि निर्देशक मण्डलमा नयाँ सदस्यका रूपमा निर्वाचित भएका छन्। अधिवक्ता तथा निर्वाचन अधिकारी अजित कुमारले नियमानुसार निर्वाचन प्रक्रिया सम्पन्न गराएका थिए।

पुनः अध्यक्ष निर्वाचित भएपछि निर्देशक मण्डलका सबै सदस्यहरूले अरविन्द मार्डीकरलाई बधाई दिएका छन्। वरिष्ठ पत्रकार रामबहादुर रायले उनको अघिल्लो कार्यकालदेखि हालसम्मको यात्राका उल्लेखनीय उपलब्धिहरूको चर्चा गर्दै उनले हरेक चुनौतीको सामना गर्दै हि.स.लाई सर्वोपरि राखेको बताए। रविन्द्र संघवीले अखण्ड ऊर्जा भएका अध्यक्षको नेतृत्वमा हि.स.को भविष्य सुरक्षित रहेको र संस्था निरन्तर प्रगतिपथमा अघि बढिरहेको बताए। निर्देशक मण्डलका सदस्यहरूले अरविन्द मार्डीकरको कार्यकालमा हि.स. आर्थिक रूपमा सबल बनेको, विभिन्न कार्यक्रममार्फत संस्थाको विस्तार भएको तथा विश्वसनीयता र प्रतिष्ठा वृद्धि भएको भन्दै प्रशंसा गरेका थिए। धन्यवाद ज्ञापनका क्रममा अरविन्द मार्डीकरले यसको श्रेय संस्थामा कार्यरत सबै सहकर्मीहरूको मेहनत र संस्थाप्रतिको निष्ठालाई दिए।

उल्लेखनीय छ, सन् २०१६ मा हि.स.को सञ्चालन सुप्रसिद्ध उद्योगपति तथा एस.आई.एस. का संस्थापक आर.के. सिन्हालाई जिम्मा दिइएपछि अरविन्द मार्डीकर निर्देशक मण्डलका सदस्यका रूपमा सहभागी भएका थिए। मई २०१८ मा सम्पन्न वार्षिक साधारण सभामा उनी उपाध्यक्ष निर्वाचित भएका थिए। सन् २०२० मा कोभिड महामारीको चुनौतीपूर्ण परिस्थितिमा उनलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिइएको थियो। त्यसपछि अप्रेल २०२२ मा आर.के. सिन्हाको राजीनामापछि बाँकी एक वर्षको कार्यकालका लागि उनलाई अध्यक्ष मनोनित गरिएको थियो। मई २०२३ मा उनी पहिलो पटक अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका थिए।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali