
गेजिङ, 05 मई (हि.स.)। पर्यटन तथा नागरिक उड्डयन मन्त्री रिरिङ टी. भोटियाको निर्देशनमा पर्यटन तथा नागरिक उड्डयन विभागका अभियन्ताहरू र अधिकारीहरूको एक टोलीले आज गेजिङ जिल्लाको योक्सममा पर्यटन सम्भावित स्थलहरूको विस्तृत निरीक्षण गरेका छन्।
भ्रमणको उद्देश्य सरकारको बौद्ध सर्किट योजना अन्तर्गत विकासका लागि स्थानहरूको मूल्याङ्कन गर्नुका साथै यस क्षेत्रमा अवस्थित पर्यटन पूर्वाधारको स्थितिको समीक्षा गर्नु थियो।
निरीक्षण टोलीको नेतृत्व विभागका प्रधान अभियन्ता एवं सचिव नीरज प्रधानले गरेका थिए। टोलीले धार्मिक र ऐतिहासिक महत्वका धेरै स्थलहरूको निरीक्षण गर्यो, जसमा सिक्किमको सबैभन्दा पुरानो गुम्बा मानिने दुब्दी गुम्पा र हुङ्ग्री गुम्पा सामेल थिए। अधिकारीहरूले यी सम्पदा स्थलहरूको सांस्कृतिक र आध्यात्मिक महत्त्वलाई संरक्षण गर्दै आगन्तुक सुविधाहरू बढाउने र पहुँचयोग्यतामा सुधार गर्ने सम्भावनाको मूल्याङ्कन गरे।
भ्रमण टोलीका साथमा गएका स्थानीय सरोकारवालाहरू र प्रतिनिधिहरूले स्थानीय विकास आवश्यकताहरूको बारेमा जानकारी साझा गरेका थिए। टोलीले समयमै कार्यान्वयन र गुणस्तर मापदण्डहरूको पालना सुनिश्चित गर्न योक्सममा निर्माणाधीन पर्यटन पूर्वाधार परियोजनाहरूको पनि समीक्षा गरेको बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल

