
- पश्चिम बंगाल, तमिलनाडु, असम, केरल र पुडुचेरीमा बिहान आठ बजीदेखि मतगणना शुरु
- पाँच राज्यका आठ सिटमा भएका उपनिर्वाचनका मत पनि गणना गरिनेछ
नयाँ दिल्ली, ०४ मई (हि.स.)। देशका चार राज्य र एउटा केन्द्रशासित प्रदेशमा सम्पन्न विधानसभा चुनावको नतिजा आज सार्वजनिक हुनेछ।
यी राज्यहरू हुन्, पश्चिम बंगाल, तमिलनाडु, असम, केरल र पुडुचेरी। सम्पूर्ण देशको ध्यान यी नतिजातर्फ केन्द्रित रहेको छ। कडा सुरक्षा व्यवस्थाबीच बिहान आठ बजीदेखि मतगणना शुरु भएको छ। सबैभन्दा पहिले पोस्टल ब्यालट गणना शुरु भएको छ। त्यसपछि ईभीएमका मतहरू गणना गरिने छन्।
यसका साथै, पाँच राज्यका आठ सिटमा पनि आजै मतगणना हुनेछ। ती सिटहरूमा वर्तमान विधायकहरूको निधनपछि गएको महिनामा उपनिर्वाचन गरिएको थियो। यीमध्ये गोवाको पोंडा, कर्नाटकको बागलकोट र दावणगेरे दक्षिण, नागाल्याण्डको कोरिडाङ, त्रिपुराको धर्मनगर, गुजरातको उमरेठ र महाराष्ट्रको राहुरी तथा बारामती सिट समावेश छन्।
यस चुनाउमा रेकर्ड मतदान, कडा सुरक्षा र लाइभ वेबकास्टिङजस्ता प्राविधिक नवप्रवर्तनहरूले चुनावी प्रक्रियाको विकास भएको संकेत दिएका छन्। आज साँझसम्म कुन पार्टी वा गठबन्धन सत्तामा आउनेछ भन्ने स्पष्ट हुनेछ। यी राज्यहरूको चुनावी नतिजाले केवल क्षेत्रीय मात्र होइन, राष्ट्रिय राजनीतिमा पनि ठूलो प्रभाव पार्नेछ।
पाँच राज्यको चुनावी नतिजामध्ये सबैभन्दा बढी ध्यान पश्चिम बंगालतर्फ रहनेछ। अधिकांश एक्जिट पोलहरूले भारतीय जनता पार्टी (भाजपा) लाई अगाडि देखाएका छन्। यदि एक्जिट पोलका अनुमानहरू नतिजामा परिणत भए भने पश्चिम बंगालमा तृणमूल कांग्रेसको सत्ता समाप्त भई ममता ब्यानर्जी सत्ताबाट बाहिरिनु पर्नेछ। केरल यसपटक पनि भाजपाका लागि चुनौतीपूर्ण रहन सक्ने देखिएको छ। एक्जिट पोलहरूले त्यही संकेत गरेका छन्। राज्य विधानसभामा भाजपाले पहिलो पटक २०१६ मा खाता खोलेको थियो।
धेरै एक्जिट पोलका अनुसार तमिलनाडुमा नयाँ राजनीतिक समीकरण देखिन सक्छ। असममा भने भाजपाको पुनरागमन हुने अनुमान गरिएको छ, जसले त्यहाँका मुख्यमन्त्री हिमन्त बिस्वा सरमाको स्थिति अझ बलियो बनाउनेछ। केन्द्रशासित पुडुचेरीमा एन. रंगासामीको नेतृत्वमा एआईएनआरसी-भाजपा गठबन्धन सरकार सत्तामा कायम रहने सम्भावना व्यक्त गरिएको छ।
२९४ सदस्यीय पश्चिम बंगाल विधानसभा मध्ये २९३ सिटका लागि ७७ केन्द्रमा मतगणना हुनेछ। दक्षिण २४ परगना जिल्लाको फलता सिटमा गडबडीका कारण मतदान रद्द गरिएको छ। त्यहाँ २१ मईमा पुनः मतदान हुनेछ। मतगणनालाई ध्यानमा राख्दै यसपटक राज्यमा अभूतपूर्व सुरक्षा व्यवस्था गरिएको छ। भारत निर्वाचन आयोगले १६५ अतिरिक्त मतगणना पर्यवेक्षक र ७७ पुलिस पर्यवेक्षक तैनाथ गरेको छ। मतगणना केन्द्रमा रिटर्निङ अफिसर र पर्यवेक्षक बाहेक अरू कसैले मोबाइल फोन लैजान पाउने छैन। केन्द्रहरूमा तीन तहको सुरक्षा व्यवस्था रहनेछ। पहिलो पटक आयोगले अनधिकृत प्रवेश रोक्न मतगणना कर्मचारीका लागि क्यूआर कोडमा आधारित फोटो परिचयपत्र प्रणाली लागू गरेको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी

